छठ पर्वले राष्ट्रिय एकता बलियो बनाउने तथा देशमा विद्यमान चुनौतीविरुद्ध विजय प्राप्त गर्न प्रेरणा मिल्ने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३ मङ्सिर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता बलियो बनाउन तथा देशमा विद्यमान चुनौतीविरुद्ध विजय प्राप्त गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। छठ पर्वको मुख्य दिन आज बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु।’

यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनाका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। शुभकामना सन्देशमा उनले भनेका छन्, ‘भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले हामी नेपालीहरू विश्वमै विशाल र वैभवशाली छौं । यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले राम्रोसँग प्रमाणित गर्दछन्।’

Facebook Comments Box