केन्द्रीय सुरक्षा समितिमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाबारे छलफल
काठमाडौं, १८ वैशाख – केन्द्रीय सुरक्षा समितिमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाबारे छलफल भएको छ।गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा सोमबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। उनका अनुसार बैठकमा अहिलेसम्म भए गरेका कामको समिक्षा भएको छ।
निर्वाचनको प्रचार प्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै कसरी घटना घटन नदिने र घटना घटिहालेमा समन्वयात्मक हिसावले कसरी सामान्यीकरण गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको प्रवक्ता पोखरेलले बताए।
बैठकमा गृहमन्त्री खाँणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंशायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनु पर्ने सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।
‘सरकारको मुख्य ध्यय शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो,’ गृहमन्त्री खाँणले भने, ‘अहिलेसम्म तपाईंहरूले मिलाएको सुरक्षा प्रबन्ध प्रशंशायोग्य छ। अब पनि त्यो भन्दा अझ राम्रो सुरक्षा प्रबन्धमा मिलाउनु होला।’
निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडपहरू पनि हुन सक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउँदाबित्तिकै सुरक्षा निकायले एकअर्काबीच समन्वयमा अगाडि बढ्न निर्देशन दिए। घटना घटिहालेमा समन्वयात्मक तरिकाले सामान्यीकरण गर्न पनि उनले सुरक्षा निकायका प्रमुख र गृह प्रशासनलाई निर्देशन दिए।
बैठकमा सोमबारमात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो।
गृहमन्त्री खाँणको अध्यक्षतामा भएको सुरक्षा समिति बैठकमा गृहसचिव टेकनारायण पाण्डे, निमित्त रक्षासचिव यज्ञप्रसाद ढुंगेल, नेपाली सेनाका रथी बालकृष्ण कार्की प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको सहभागिता थियो।

