आज सबै प्रदेशमा पानी पर्ने, कोशी, मधेश, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं, १८ भदौ – आज सबै प्रदेशमा पानी पर्ने तथा कोशी, मधेश, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यतिबेला लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा कर्णाली र कोशीका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाका अनुसार राति देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिलाई कतै भारी वर्षाको सम्भावना देखिएको छैन। काठमाडौं उपत्यकामा पनि आज दिउँसोतिर वर्षाको सम्भावना देखिएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार उपत्यकामा आज हल्का तथा क्षणिक वर्षाको मात्र सम्भावना छ। ‘त्यस्तो भारी, लगातार र भरी खालको वर्षाको सम्भावना भने छैन’, उनले भने। महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षेतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

