आयोगले मिटरब्याज पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान

काठमाडौँ, १४ वैशाख – मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ। ‘अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालय गृह मन्त्रालय परिसरबाट अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो आह्वान गरेका हुन्।

सरकारले गत चैत २० गते कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। सो आयोगले यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गर्दैछ। आयोगले १७ गतेदेखि ३१ गतेसम्म उजुरी आह्वान गरेको हो।

‘यस आयोगबाट अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निवेदन आह्वान गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सीधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ।’

साथै प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको जानकारी दिँदै आयोगले सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुने जनाएको छ। निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको छ।

Facebook Comments Box