काठमाडौँ, ११ असार – काभ्रे जिल्लाका करीब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको संक्रमण देखिएको छ । गत वैशाख पहिलो हप्ता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको रोग संक्रमण हालसम्म काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा. कार्कीले बताए । उनका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैंसीमा लाग्ने लम्पी स्किन रोग करीब २ महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा संक्रमण देखिएको तथ्यांक प्राप्त भएको छ ।

रोगको संक्रमणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन् । उनले रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५ गाई तथा ३५ हजार संक्रमित पशुमध्ये करीब २ हजार भैंसी संक्रमित रहेको तर भैंसी नमरेको जानकारी दिए । उनका अनुसार पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा संक्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा रोग देखिन थालेको छ ।

जिल्लामा देखिएको रोगका कारण ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा ६ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनायो । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको संक्रमण बढेको हो । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई ३०० डोजका दरले खोप पठाइएको जनाएको छ ।

‘जिल्लामा रोगको संक्रमण बढेसँगै केन्द्रले लम्पी स्किन विरुद्धको थप मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ,’ निमित्त प्रमुख कार्कीे भने । रोग लागेपछि गाई, भैंसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ ।

रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् । रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन संक्रमण सन् १८८८ मा अफ्रिकाबाट शुरू भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विक्रम संवत् २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो ।

Facebook Comments Box