रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो, खानीगाउँ जोखिममा
गुल्मी, ६ जेठ – गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर-८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षा कर्मी परिचालन भए पनि नियन्त्रणमा आउन सकेको छैन् ।
शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगे पनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले बताए । आज बिहानैदेखि नियन्त्रणका लागि खटिने काउछाले बताए ।
डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा रहेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ । यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

