उपत्यकामा भोलिदेखि निषेधाज्ञामा थप कडाई गरिने
काठमाडौँ, १८ वैशाख – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलिदेखि थप कडाई गरिने भएको छ ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निणर्य गरिने उहाँको भनाइ छ । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले भोलिदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ ।
भोलिदेखि थप कडा गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका कुरा उहाँले बताउनुभयो । शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेका भए त्यसलाई होल्ड गरिने पनि उहाँले बताउनुभयो ।

