काठमाडौँ उपत्यकामा २ हजार ४ सय ९५ जना सहित देशभर थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ९५ जना सहित देशभर थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९ सय २३, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १४ हजार ४०३ जनाको आरटी पीसीआर तथा ५६६ जनाको एन्टीजेन सहित १४ हजार ९६९ जनाको परिक्षण गर्दा ५ हजार ७६३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २८७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार २९८ रहेको छ ।

Facebook Comments Box