सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले पहिलो जित

काठमाडौँ, २४ फागुन – अमृत श्रेष्ठको निर्णायक गोलमा सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले पहिलो जित दर्ता गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबले लिगमा लगातार दोस्रो हार व्यहोरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा शेर्पाले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। इन्ज्युरी समयमा अमृत श्रेष्ठले गोल गर्दै शेर्पाको जित पक्का गरे।

खेलको ३२ औँ मिनेटमा निशान लिम्बु पेनाल्टीमा चुक्दा हिमालयन शेर्पाले पुलिसविरुद्ध अग्रता बनाउने मौका गुमायो। ३१ औँ मिनेटमा पुलिसका डिफेन्डर अजित भण्डारीले एवायोमी ओलुवासेनलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो।

खेलको ४१ औँ मिनेटमा पुलिसका रवि पासवानको क्रस सेकेण्ड बारको नजिकबाट बाहिरिदा अग्रता लिन असफल भयो। ४३ औँ मिनेटमा पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरी डिबक्सबाहिर आएर बल समाएपछि शेर्पाले फ्रिकिक पाएको थियो। सत्यम शर्माको फ्रिकिक पोष्टको माथिबाट बाहिरियो।

खेलको दोस्रो हाफमा दुवै टोलीले केही मुभ बनाए पनि गोल गर्न असफल रहे। आजै हुने अर्को खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब खेल्नेछन्। खेल दशरथ रगंशालामा हुनेछ।

Facebook Comments Box