प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं, १० फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाँदैछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहान ९ बजेका लागि भेटघाट तय भएको छ।

त्यस्तै, प्रधानमन्त्रीलाई भेट्न सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालुवाटार जाने कार्यक्रम रहेको स्रोतले बताएको छ। उनीहरूबीच राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन लागेको हो।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्। फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। नेपाली कांग्रेसले एक/दुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ।

राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ। केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन्। राष्ट्रपति चुनावका लागि माओवादी केन्द्र निर्णायक छ। उसले जुन दललाई सहमर्थन गर्छ सोही दलको उम्मेदवार राष्ट्रपतिमा जित्ने निश्चितजस्तै छ।

Facebook Comments Box