कर्णाली नदीमा जेसीबी खस्यो, दुईको मृत्यु, तीन बेपत्ता

काठमाडौँ, २४ मंसिर – कालीकोट जिल्ला अन्तर्गत कर्णाली करिडोरको सडक खण्डबाट जेसीबी कर्णाली नदीमा खसेको छ। दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। शनिबार दिउँसो साढे १ बजेको समयमा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेँरीखोला नजिकबाट जेसीबी नदीमा खसेको प्रहरीले जनाएको छ।

कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी शुक्रराज बमले जानकारी दिए।

यस्तै, बेपत्ता हुनेमा कैलाली घर बताउने अन्दाजी २२÷२३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी र सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की छन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

यस्तै, घाइते तीनजनालाई तत्काल उद्धार गरेर बोलेरो जिपमा उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पु¥याइएको छ। घाइते हुनेहरुमा रास्कोट नगरपालिका–७ का १४ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीय विकास भारती र खाँडाचक्र–११ कै १४ वर्षीया आशिष भारती छन्।

फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन सुरुङ भित्र पानीको अवस्था जाँच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। जेसीबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ।

Facebook Comments Box