पाँच दलीय गठबन्धनका शीर्ष नेताको उपस्थितिमा चितवनमा विशेष चुनावी सभा गर्ने

काठमाडौं, २० वैशाख – पाँच दलीय गठबन्धनका शीर्ष नेताको उपस्थितिमा चितवनको भरतपुर महानगरमा विशेष चुनावी सभा गर्ने भएको छ।वैशाख २२ गते विहान ११ बजे केन्द्रीय बस टर्मिनलमा हुने चुनावी सभालाई सम्बोधन गर्न पाँचै दलका शीर्ष नेता चितवन जाने तय भएको नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले नेपालखबरलाई जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका नेताहरुले चितवनको चुनावी सभालाई सम्बोधन गर्न लागेका छन्।

यस्तै कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला समेत भरतपुरमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए। तर डा. कोइरालाको सचिवालयले भने भरतपुरको चुनावी सभाबारे कुनै खबर नआएको जनाएको छ।

‘सभाबारे हामीलाई कुनै जानकारी छैन’, शेखरका एक सहयोगीले भने, ‘यसबारेमा हामीलाई निम्तो पनि आएको छैन, कसैले जानुपर्नेबारे कुरा राखेका पनि छैनन्।’ भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रेनु दाहाल छिन्। तर कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

शीर्ष नेताहरुले सम्बोधन गरेर एकताको सन्देश दिने प्रयास गर्न लागेका हुन्। ‘२२ गते शीर्ष नेताहरुसहितको बृहत चुनावी सभा हुन्छ,’ न्यौपानेले भने। यसअघि वैशाख ८ मा पाँच दलीय गठबन्धनले सातै प्रदेशमा चुनावीसभाको निर्णय लिएको थियो। तर उक्त कार्यक्रम स्थगित गरेपछि कांग्रेसले मात्रै एक्लै सात प्रदेशमा सभा गर्न लागेको छ।

Facebook Comments Box