बंगलादेश नेपालको विद्युत किन्न तयार, सुनकोशी तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने
काठमाडौं, ९ भदौ – ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न र नेपालको विद्युत किन्न बंगलादेश तयार भएको छ। यी दुई विषयमा बंगलादेश र नेपालबीच सहमति भएको छ।
ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक नेपालमा सम्पन्न भएको छ। उक्त बैठकले यी दुई विषयमा सहमति गरेको हो।
नेपालको विद्युत खरिदको लागि भने भारतसँग सहजीकरण गरेर अघि बढ्न बंगलादेश सहमत भएको छ। तत्काल १ सय मेगावाट विद्युत किन्न बंगलादेश तयार भएको हो।
ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक नेपालमा सम्पन्न भएको छ।
उक्त बैठकमा यी दुई मुख्य विषयमा छलफल भएको हो। संयुक्त कार्यदलको बुधबार र निर्देशक समितिको बैठक बिहीबार काठमाडौंमा आयोजना भएको थियो।
नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो।
बैठकमा पहिलो चरणमा सुनकोशी तोस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो। नेपाल र बंगलादेश दुवै देशको चाहनामा यी दुई विषयमा आवश्यक प्रक्रिया अपनाउने गरि सहमति जुटेको हो।
काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ।
त्यसको मोडालिटी अर्को बैठकमा राख्ने सहमति भएको छ। बंगलादेशले मोडालिटी पेश गर्ने सहमति भएको हो। आयोजना विकासको लागि संयुक्त कम्पनी समेत निर्माण गर्ने सहमति भएको छ।
बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण समेत गरेको थियो। नेपालमा रहेको बंगलादेशी टोलीलले हरेक बैठकमा यस आयोजना निर्माणमा इच्छा देखाएको हो।
आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ। विद्युत विकास विभागका अनुसार यस आयोजनाको आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) गरी स्वीकृतिको प्रक्रियामा रहेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोशी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो। जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अद्यावधिक गरिएको थियो।
बीपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सीमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ। आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ।
जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ।
ईआइए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने छन्। आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुबानमा पर्ने छ।
यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६ सय ५५ हेक्टर वन क्षेत्रको जग्गा पर्ने छ। आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने देखिएको छ। वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ।

