आज प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ, १८ साउन – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानमा रहेकाले पश्चिमतर्फ अलि बढी र पूर्वतर्फ अलि कम वर्षा हुने सम्भावना छ। ‘आज प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा वर्षा हुने देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्।
मौसम महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी राति देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ

