नेपालले बाढीका कारण संकटग्रस्त दक्षिण अफ्रिकालाई खाद्यान्न मानवीय सहायतास्वरुप उपलब्ध
काठमाडौं, १५ वैशाख – नेपालले बाढीका कारण संकटग्रस्त दक्षिण अफ्रिकालाई खाद्यान्न मानवीय सहायतास्वरुप उपलब्ध गराएको छ।दक्षिण अफ्रिकास्थित कार्यवाहक नेपाली राजदूत ज्ञान बहादुर मगरले त्यहाँका सामाजिक विकास मन्त्रालयका उपनिर्देशक क्याथी मातमेलालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुशार नेपाल सरकारका तर्फबाट चामल, खानेपानी, ब्ल्यांकेट, खाने तेल, दुध, जुस लगायत दैनिक उपभोग्य सामाग्री दक्षिण अफ्रिकालाई उपलब्ध गराइएको हो।
त्यहाँस्थित नेपाली दूतावासले खाद्यान्न तथा गैह्रआवासीय नेपाली संघ नेसनल कोअर्डिनेशन काउन्सिल दक्षिण अफ्रिकाका तर्फबाट १०,००० दक्षिण अफ्रिकी र्यान्ड उपलब्ध गराएका हुन्।
मानवीय सहायता हस्तान्तरण गर्दै कार्यवाहक राजदूत मगरले बाढीमा परेर मारिएका अफ्रिकी जनताका आफन्तप्रति समवेदना ब्यक्त गरे। उनले विनाशकारी बाढीमा परी घाइते भएको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरे। सन् २०१५ मा नेपालमा गएको भूकम्पमा दक्षिण अफ्रिकाले दिएको सहयोगको उनले स्मरण गरे।
सो अवसरमा उपनिर्देशक मातमेलाले नेपाली दूतावास र दक्षिण अफ्रिकास्थित नेपाली समुदायका तर्फबाट दिइएको मानवीय सहयोगका लागि धन्यवाद दिए। दक्षिण अफ्रिकाका क्वझुलु नता, इस्टर्न केप र नर्थ वेस्ट प्रान्तहरुमा आएको विनाशकारी बाढीमा परी झन्डै चारसयको ज्यान गएको तथा हजारौं विस्थापित भइसकेको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
नेपालले गत जनवरीमा संकटग्रस्त अफगानिस्तानमा १० टन भन्दा बढी मानवीय सहयाता पठाएको थियो। सहायता हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको एक टोली अफगानिस्तानको काबुल गएको थियो।

