नेपालमा दुईवटा मात्रै पार्टी छन् गठबन्धनवाला पार्टी र एमाले, कांग्रेस हरायो : केपी शर्मा ओली
काठमाडौं, ५ वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालमा दुईवटा पार्टी मात्रै बाँकी रहेको बताएका छन्। सोलुखुम्बुमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा अध्यक्ष ओलीले एउटा गठबन्धनवाला र अर्को एमाले मात्रै बाँकी रहेको बताए।
‘नेपालमा दुईवटा मात्रै पार्टी छन्, एउटा गठबन्धनवाला पार्टी, कांग्रेस हरायो। अर्को तपाईं हामीले हाँकेको नेकपा एमाले’, उनले भने, ‘गठबन्धनमा कहाँ कसको उम्मेदवार हुने हो? अण्डाभित्रको हँसिया हथौडा हो कि यसो के खाने गिलास हो कि?’
उनले एमालेलाई पत्तासाफ गर्न गठबन्धन बनेको पनि बताए। ‘एमालेको पत्तासाफ गर्ने भने छन्। एमाले रुख हो र? पत्तासाफ हुनलाई, एमाले सूर्य हो यसको पात हुँदैन झर्नलाई’, उनले भने, ‘गठबन्धनले आफ्ना पात जोगाउन् पहिले। वैशाख ३० गते निर्वाचन हुँदैछ। एमाले देशका लागि काम गर्छ। अब एमालेले बहुमत ल्याउँछ।’
ओलीले चुनाव सुन्नेबित्तिकै अहिलेको गठबन्धनको सातो गएको पनि बताए। ‘हामीले निरन्तर दबाब दियौँ। निर्वाचन आयोगले दबाब दिएको छ। पाँच दलीय गठबन्धन अपराधिक हो’, उनले भने, ‘कांग्रेस आफैं भन्छ अब पत्तासाफ! अहिले पनि चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ।’
अहिले गठबन्धन ओथारो बसिरहेको उनले बताएका छन्। ‘चल्ला काढ्छ कि काढ्दैन तर ओथारो बसेको बस्यै छ’, उनले भने, ‘एमाले देशभर पुगिरहँदा गठबन्धन बालुवाटारमा ओथारो बसिरहेको छ।’

