आज देशभर पानी पर्ने : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ८ भदौ – देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। अहिले पनि लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यतिखेर काठमाडौं उपत्यका आसपास पनि वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गर्दै भारी वर्षाको सम्भावना रहेको क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।