विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपालले पीएनजीलाइ २ विकेटको हरायाे

काठमाडौं, २ चैत्र – रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय इनिङ खेलेपछि नेपालले पीएनजीमाथि २ विकेटको संघर्षपूर्ण जित हात पारेको छ। विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा भएको खेलमा पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ८ विकेट गुमाएर भेट्टायो।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन आवश्यक थियो। पहिलो बलमा ४ रन लेगबाईबाट पाएको नेपालका लागि दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै विजयी रन बटुले। २५ बलमा करणले १ चौका र २ छक्कासहित २९ रनको विजयी इनिङ्स खेले।

त्यसअघि दोस्रो ओभरमा कुशल भुर्तेलले १ रनमै विकेटकिपर डोबाडो बाउलाई क्याच थमाए। अर्को ओभरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल(४)लाई नोर्वमान भानावले एलबीडब्लुको सिकार बनाए।

नवौं ओभरमा लयमा रहेका दीपेन्द्रसिंह ऐरी ८ र लगत्तै आसिफ सेख १६ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो।  ४२ रनमा ४ विकेट गुमाइसकेको नेपालका इनिङ्सलाई रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय इनिङ्स खेल्दै अघि बढाए।

रोहितले ७१ बलमा ४ चौकासहित आफ्नो अर्धशतक पूरा गरे। ओडिआईमा चौथो अर्धशतक हिर्काएलगत्तै ३८ औं ओभरमा उनलाई रिले हुकारेले आउट गरे। ८२ बल खेलेका रोहितले ५८ रन जोडे।

आरिफ सेखपनि अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए। ८६ बलमा उनले २ चौकासहित ५४ रन जोडे। जुन राष्ट्रिय टोलीबाट उनको पहिलो ओडिआइ अर्धशतक हो।

२५ बल खेलेका विनोद भण्डारी १२ रनमै आउट भए। सोमपाल कामी ७ रनमा आउट भए। त्यसअघि यूएईको सारजहामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो।

उसका कार्लोस एमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। ८२ बल खेलेका उनले ७ चौका प्रहार गरे। यस्तै चोद सोपरले ३५, टोनी उराले २७, नोर्मन भोनीले २३, असाद भालाले १९ र लागा साकीले २५ रन जोडे।

नेपालका सोमपाल कामीले ३ विकेट लिए। १० ओभरमा उनले ४८ रन खर्चे। यस्तै आरिफ सेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट हात पारे।

Facebook Comments Box