मनसुन बिदा भएसँगै काठमाडौं उपत्यकामा चिसो बढ्न थाल्यो
काठमाडौं, १ कात्तिक – मनसुन अर्थात् वर्षायाम बिदा भएसँगै देशभर चिसो महसुस हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार बिहान–बिहान चिसो हुन थालेको हो। ‘अहिले न्यूनतम तापक्रम केही घटेको छ’, मौसमविद् भट्टराईले भने, ‘दिउँसोको अर्थात् अधिकतम तापक्रम भने अहिले घटेको छैन।’
उनका अनुसार साँझतिर पनि अहिले खासै चिसो बढेको छैन। बिहानको तापक्रम मात्र केही घटेको उनको भनाइ छ। यस वर्षको मनसुन केही दिन ढिला गरी गत आइतबार (अक्टोबर १६) मा नेपालबाट बाहिरिएको हो। नेपालबाट मनसुन हट्ने औसत मिति अक्टोबर २ तारिख हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
मनसुन बिदा भएको र विन्टर सुरु भइनसकेको अवधिलाई पोस्ट मनसुन हुन्छ। मौसमविद् भट्टराईका अनुसार नोभेम्बर महिनाभर पोस्ट मनसुन रहन्छ। डिसेम्बरदेखि भने विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। माैसम महाशाखाका अनुसार यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको मौसमविद् भट्टराईले जानकारी दिए।

