नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालमा कार्यरत कर्मचारीसहित ६ जना पक्राउ
काठमाडौं, १९ माघ – नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको दुई अस्पतालमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा बिचौलियासमेत रहेका छन् ।
प्रवक्ता कोइरालाका अनुसार नागरिक कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेका हुन् । छिट्टानको साथबाट ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट प्रहरीले बरामद गरेको छ ।
कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । यादवको साथबाट प्रहरीले १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरेको छ ।

