आज देशका एक दुई स्थानमा हल्का वर्षा हुने साथै थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना

काठमाडौँ, १८ माघ – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र भोलि बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाका अनुसार यतिबेला पहाडी भेगमा मौसम आंशिक बदली रही तराईमा हुस्सु/कुहिरो लागेको छ। महाशाखाले आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस क्रममा आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेकाे मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। ‘तर सम्भावना निकै न्यून छ, भयो भने फाटफुट वर्षा हुन सक्छ’, मौसमविद् बासीले भनिन्।

आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

 

Facebook Comments Box