अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि १ सय बढीको गैरन्यायिक हत्या

काठमाडौँ, १८ माघ – अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अहिलेसम्म विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा आवद्ध १ सय बढीको हत्या भएको खुलेको छ । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उनीहरूको गैरन्यायिक तवरले हत्या गरेको जनाइएको छ ।

मारिनेहरूमा अफगान सरकारका पूर्व सदस्य, सुरक्षाबल र अन्तर्राष्ट्रिय सैन्यमा काम गर्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गरेको प्रतिवेदनमा दुई तिहाइ बढी पीडितहरूलाई तालिवानले गैरन्यायिक रूपमा मारिएको जानकारी गराए ।

सामान्य माफीको घोषणा बावजुद तालिबानले हत्या, बलपूर्वक बेपत्ता र अमानवीय कार्य गरेको प्रतिबेदनमा औंल्याइएको छ । तालिबानले सुरुमा पूर्व सरकार र अन्तर्राष्ट्रिय सेनासँग सम्बन्धित व्यक्तिलाई सामान्य माफी दिने, महिला तथा जातीय अल्पसंख्यकहरूप्रति सहिष्णुता र समावेशीता दिने प्रतिबद्धता जाहेर गरेको थियो । यद्यपि, महिलाहरूमाथि नयाँ प्रतिवन्ध लागू गरेको छ । फलस्वरुप अन्तराष्ट्रिय समुदायबाट तालिबानले विभिन्न प्रतिबन्धको सामना गरिरहेको छ ।

Facebook Comments Box