बर्जु घटना छानविन गर्न समिति गठन

सुनसरी, ५ माघ – बर्जु घटनाबारे छानबिन गर्न सुनसरी प्रशासनले एउटा समिति बनाएको छ। बर्जु महोत्सवका क्रममा मंगलवार भएको तोडफोड र आगजनीबारे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

सहायक प्रजिअधि आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको समिति बनाइएको हो।

समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। समितिले बुधवारबाटै काम थाल्ने भएको छ। यसैबीच सुनसरी प्रशासनले घटनाबारे पत्रकार सम्मेलन त्यसमा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ।

महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनले निष्कर्ष निकालेको छ। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुशी महोत्सव गरेको बताए।

उनले महोत्सव रोक्न आफूहरुले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरी मनोमानी गरेको बताए। पत्रकारहरुको जिज्ञासामा प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोशित भीडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गरे।

उनले प्रहरी प्रशासनले संयमता अपनाउदा मानविय क्षति हुन नपाएको उल्लेख गरेका छन्। सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराएपनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना भएको जनाएको छ।

महोत्सवमा बोलाइएका भोजपुरी कलाकार खेसरीलाल यादव नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भीड तोडफोड र आगजनीमा उत्रिएको थियो।

त्यस क्रममा चारवटा भारतीय नम्बर प्लेटको स्कारपियो, एउटा मोटरसाइकलमा आगजनी भएको थियो। स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा दर्जन बढी घाइते हुन पुगेका थिए। प्रहरीले भीड तितरवितर पार्ने क्रममा १५ सेल अश्रुग्यास प्रहार गर्नु परेको थियो।

Facebook Comments Box