आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च पहाडी–हिमाली भेगमा हिमपात हुने सम्भावना
काठमाडौँ, २५ पुस – आज देशका विभिन्न स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा तथा उच्च पहाडी–हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पनि एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
मौसमविद् गंगा नगरकोटीले भने बुलेटिनमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाहेक अन्य प्रदेशका पनि एक/दुई स्थानमा वर्षाको सम्भावना उल्लेख गरिए पनि त्यो सम्भावना एकदमै कम रहेको बताइन्। यस्तै आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना एकदमै कम रहेको उनले बताइन्। ‘भइहाले फाटफुट वर्षा हुन सक्छ’ ।
महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाेछ।

