महानगरको उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं, १० वैशाख – सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँड गर्दा आफ्नो भागमा परेका महानगरमा पार्टीका तर्फबाट उम्मेदवार छान्न आज (शनिबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
गठबन्धनका पाँच दलबीच भएको सहमतिअनुसार देशका जम्मा ६ महानगरमध्ये नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर परेका छन् भने नेकपा माओवादी केन्द्रलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टी (जसपा) लाई वीरगन्ज दिइएको छ।
आफ्ना भागमा परेका महानगरमा कसलाई टिकट दिने भन्ने विषयमा निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बिहान ११ बजे केन्द्रीय कार्यालय (सानेपा, ललितपुर) मा बस्ने भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि सूचना गरिएको छ।
आजको बैठकले महानगरमा उठ्ने उम्मेदवारको टुंगो लगाउँदै टिकटसमेत वितरण गर्ने सम्भावना छ। हिजो शुक्रबारका दिउँसो नै बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरिएको थियो।

