अनुसन्धान विभागले प्रधानन्यायाधीश जबराका परिवारका सदस्य र आफन्तको सम्पत्ति छानबिन थाल्याे
काठमाडौँ, १६ पुस – बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले दिएको उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका परिवारका सदस्य र आफन्तको सम्पत्ति छानबिन थालेको छ।
प्रधानन्यायाधीश जबराका परिवार र आफन्तका नाममा रहेको सम्पत्ति अनुसन्धान गर्न भन्दै बृहत् नागरिक आन्दोलनको टोलीसहित गत आइतबार विभाग पुगेर डा. केसीले ध्यानाकर्षण पत्रसहित उजुरी दिएका थिए।
उजुरीमा प्रधानन्यायाधीश जबरा, उनका भाइ, पत्नी र परिवारका अन्य सदस्य एवं नातेदार, बिचौलियाको समेत काम गर्ने उनीनिकटका न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीलगायत मिलेर संगठित गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै छानबिन गर्न माग गरिएको छ।
सोही आधारमा विभागले उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन सुरु गरेको हो। स्रोतका अनुसार अहिले प्रारम्भिक सूचना संकलन भइरहेको छ।
‘उक्त गिरोहले सम्पत्ति शुद्धीकरण निवारण ऐनले कसुर मानेका गैरकानुनी वा धुर्त्याइँपूर्वक असुली, भ्रष्टाचार तथा घूस, ठगी, आपराधिक लाभ तथा मुद्रा, घरजग्गा र सम्पत्तिसम्बन्धी कसुरबाट प्राप्त गरेको गैरकानुनी स्रोतको अर्बौं सम्पत्ति शुद्धीकरण गरेको सम्बन्धमा आमसञ्चारका माध्यमबाट निरन्तर रूपमा तथ्यपरक समाचार सम्प्रेषण भइरहेको छ।
बहृत् नागरिक आन्दोलनका तर्फबाट सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको पत्रमा भनिएको छ, ‘त्यस सम्बन्धमा हालसम्म पनि कुनै जाँचबुझ वा अनुसन्धान भएको छैन। कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारबाही तत्काल प्रारम्भ गरिपाऊँ ।’
स्वयं प्रधानन्यायाधीश जबराको नाममा रहेको सम्पत्ति भने विभागले छानबिन गर्न पाउँदैन। किनभने उनी प्रधानन्यायाधीश पदमा रहुन्जेल कानुनले नै त्यस्तो छानबिन गर्न नपाउने भनेको छ। तर उनका परिवार र आफन्तको सम्पत्ति भने विभागले छानबिन गर्न र गैरकानुनी ठहरे मुद्दा पनि चलाउन सक्छ।

