आफ्नै टिमबाट भएको असहयोगका कारण महामन्त्री पदमा हारे : डा. प्रकाशशरण महत
काठमाडौं, ९ पुस – नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नै टिमबाट भएको असहयोगका कारण महामन्त्री पदमा हार ब्यहोर्नुपरेको बताएका छन्।
१४ औं महाधिवेशनका महामन्त्रीका उम्मेद्वार डा. महतले शुक्रबार अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरी नतिजा अपेक्षाअनुसार नआए पनि त्यसलाई स्वीकार गर्ने बताए।
‘बाधा ब्यवधानका बावजुद जुन मत पाएँ त्यो मलाई माया गर्नेहरुको मत हो। यसले मलाई उर्जा थपेको छ’ उनले भने, ‘टिमको आधारमा मतदान भए पनि इन्ट्याक्ट (एकजुट भएर) देखिएन। मैले सहयोग पाइन। कमी कमजोरी मबाटै रहेको होला। अरुलाई दोषारोपण गर्नुको कुनै अर्थ छैन।’
नेता महतले महामन्त्री तहमा मात्रै प्यानल बाहिर मत आएकोबारे पार्टीले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनमा अधिकांश पदमा शेरबहादुर देउवा प्यानलका उम्मेदवार विजयी भए पनि महामन्त्रीमा भने संस्थापन बाहिरका गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका थिए।
डा. महतले भने, ‘महामन्त्री तहमा मात्रै त्यो किसिमको नतिजा आएको छ। मूल्यांकन होला। टिकाटिप्पणी गर्न उपयुक्त ठान्दिन।’ उनले पद नपाए पनि काम गर्ने प्रतिवद्धता जनाएका छन्। साथै, घात भए नभएको अनुसन्धान गर्न कार्यकर्तासँग आग्रह पनि गरे।
‘अनेपेक्षित परिणामप्रति चासो र चिन्ता छ। काममा विश्वासमा गर्ने मान्छे हुँ। सुख दुःख भोगेको मान्छे हुँ। पद प्राप्तिका लागि उछल कुद गर्ने, नपाए सिरक ओढेर सुत्ने मान्छे होइन। झनै सकृय हुन्छु’ उनले भने, ‘अनुसन्धानका आधारमा तपाइँहरुले गर्ने कुरा हो, घात भए नभएको। मैले यसले यो गर्यो उ गर्यो भन्दिन।’

