नेकपा एमालेकाे आज देशभर पालिका (गाउँ/नगर) अधिवेशन

काठमाडौँ, ९ कात्तिक – दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेले आज देशभर पालिका (गाउँ/नगर) अधिवेशन गर्दै । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज एकसाथ देशभरका स्थानीय तहमा अधिवेशन गरिने भएको हो।

अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे माइतिघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। यसअघि शनिबार एमालेले देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ।

बेमौसमी वर्षाका कारण बाढी र पहिरोले गर्दा केही वडामा भने अधिवेशन गर्न बाँकी छ। तिनमा क्रमश: यही कात्तिक १५ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिने कार्यालय सचिव तामाङले जानकारी दिएका छन्।

आज पनि देशभरका पालिकामा एकसाथ अधिवेशन गरिने तर बाढी पहिरोका कारण प्रभावित स्थानीय तहमा भने समय मिलाएर पछि गर्ने तयारी एमालेले गरेको छ।

देशभर ७ सय ५३ वटा स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) छन्। एमाले विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीमा बढीमा ७५ सदस्य रहने व्यवस्था छ भने उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय कमिटी गठन गर्न सकिनेछ।

कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उपसचिव १/१ जना चयन हुनेछन्। ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था एमाले विधानले गरेको छ। एमालेले आगामी मंसिर (१०–१२) मा चितवनमा दसौं महाधिवेशन गर्दै छ। जसले एमालेको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ।

महाधिवेशनका लागि चितवनको एमाले जिल्ला कमिटीले नारायणी नदीकिनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहमा बन्द सत्र आयोजना गर्न केन्द्रमा प्रस्ताव पठाएको छ।

Facebook Comments Box