खानेपानी कार्यालयका जनकपुरका निमित्त प्रमुखलाई अर्धनग्न बजार घुमाउने जनमतका १० कार्यकर्ता पक्राउ
जनकपुर, ४ कात्तिक – नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी बजार घुमाउने जनमत पार्टीका १० नेताकार्यकर्ता पक्राउ परेका छन्।
प्रदर्शनकै बेला उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।
ढल निकासको कामको लागि पटक पटक लिखित तथा मौखिक गुनासो गर्दा समेत बेवास्ता गरेको भन्दै कार्यालयका निमित्त प्रमुख कुशवाहामाथि दुर्व्यवहार भएको थियो।
बिहीबार मध्यान्ह जनमत पार्टीका नेता कार्यकर्ता भाटासहित एकाएक कार्यालयमा पुगेका थिए। उनीहरुले कुशवाहालाई नियन्त्रणमा लिइ कुटपिट गर्दै कपडा च्यातेर अर्धनग्न बनाए। त्यसपछि नालाको हिलो छ्यापेर बजार घुमाएका थिए।
यता, पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको छ। निमित्त प्रमुख कुशवाहालाई बजार घुमाउँदा प्रहरी भने मुकदर्शक बनेका थिए।

