प्रहरी र स्थानीयबीच भएको झडपमा चारजना सर्वसाधारणले ज्यान गुमाएको घटनामा ४९ जना सुरक्षाकर्मी घाइते
रुपन्देही, २५ असोज – रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा आइतबार प्रहरी र स्थानीयबीच भएको झडपमा परेर ४९ जना प्रहरी घाइते भएका छन्।
उद्योगको जग्गा कब्जा गरी बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा चारजना सर्वसाधारणले ज्यान गुमाएको घटनामा ४९ जना सुरक्षाकर्मी घाइते भएका हुन्। घटनामा कयौँ सर्वसाधारण पनि घाइते भएका छन्।
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। घटनामा नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरीका १९ जना घाइते भएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।
सर्वसाधारणको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीका एसपीसहित १९ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, हवल्दार डिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तिलबहादुर धामी, रुद्रबहादुर शाही, जनकराज जोशी, रबिन्द्र कुमार गौड र चुमानसिंह थापा जवानहरु सन्तोष बस्नेत, इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त जिसी, लोकनाथ खनाल, गणेश रावत, प्रेम बिक, सुरज दयाल र कृष्णबहादुर थापा घाइते भएका छन्।
सुरक्षाकर्मीमाथि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्नुका साथै पेट्रोल बमसमेत प्रहार गरेका थिए। झडपका क्रममा प्रदर्शनकारीले असई विमला विश्वकर्मालाई केही घण्टा नियन्त्रणमा लिएर छाडेका प्रहरीले जनाएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतवार अपरान्ह झडप भएको थियो। झडपपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।
प्रहरीको गोली लागेर ज्यान गुमाउनेमध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियारको मात्रै सनाखत भएको छ। बाँकी मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

