उपत्यकाभित्र सभा, जुलुस रोक्ने निर्णय ‘राजनीतिक’ : नेकपा एमालेले
काठमाडौँ, १४ असोज – नेकपा एमालेले काठमाडौं उपत्यकाभित्र सभा, जुलुस रोक्ने निर्णय ‘राजनीतिक’ भएको आरोप लगाएको छ। एमालेले आफ्नाे विधान महाधिवेशनको पूर्वसन्ध्यामा उपत्यकाभित्र सभा सम्मेलन रोक्ने निर्णय राजनीतिप्रेरित भएको आरोप लगाएको हो।
एमाले विधान महाधिवेशन मूल आयोजक समितिको संयोजक रामबहादुर थापा बादलले भने, ‘कोरोनालाई मध्यनजर गरेर उहाँहरूले स्वास्थ्य मापदण्डको ख्याल गरेर सभा, जुलुस, जमघट गर्न रोक लगाइएको होला। तर, हामीले महाधिवेशनमा स्वास्थ्यका सबै मापदण्ड पूरा गरेका छौँ।’
आज राति १२ बजेदेखि लागू हुनेगरी गरेको निर्णयलाई उनी ‘राजनीतिक’ निर्णय भएको दाबी गर्छन्। उनी भन्छन्, हामीले महाधिवेशनको तयारी गरेको एक महिना भइसक्यो। तर, आजै आएर गरेको निर्णयलाई हामीले राजनीति प्रेरित भएको बुझेको छौँ। कुनै पनि हालतमा रोकिँदैन।’
एमालेको महाधिवेशनमा शुक्रबार सुरु हुँदैछ। एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गरेर महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइसकेको छ।
विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी हुने पार्टीका मिडिया संयोजक तथा स्थायी कमिटी सदस्य खिमलाल भट्टराईले बताए। ठूलो संख्यामा प्रतिनिधि उपस्थित हुने भएकाले कोरोनाको जोखिम लक्षित गरेर सबैलाई अनिवार्य खोपको व्यवस्था गरेको संयोजक भट्टराई बताए।
उनले भने, ‘उहाँहरू अधिकांशले खोप लगाइसक्नुभएकै होला। लगाउन बाँकी भएकाहरूलाई पनि व्यवस्थापन गर्छौं। यस्तै, त्यहाँ उपस्थित हुनेहरूलाई मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य रूपमा गरेका छौँ। सबैको स्वास्थ्य परीक्षणसमेत हुन्छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना जोखिम कायमै रहेकाले अर्को आदेश नभएसम्म भिडभाडजन्य क्रियाकलाप गर्नमा रोक छन्।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार होटल वा पार्टी प्यालेसले कुनै बैठक, सेमिनार गोष्ठी, भोजजस्ता कायर्यक्रम गर्दा आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।
‘कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्को) निर्णय, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८ असोज १४ गते १२ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तपसिल बमोजिम गर्न–गराउन सर्वसाधारण सबैको लागि अनुरोध छ,’ काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै भनेको छ।

