नेपालले ओमानललाई ७ विकेटले हरायो

काठमाडौँ, ३ असोज – करण केसी र सन्दीप लामिछाने चम्किँदा आइसीसी लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले ओमानललाई ७ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङ्ग गर्न मैदानमा उत्रेको ओमानले ३७.१ ओभरमा सबै खेलाडी गुमाएर १२१ रन मात्र बनाउन सक्यो । लगातार विकेट पतनले दबाबमा आएको ओमानले १४ ओभरको समाप्तिमा ४३ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।

नेपालका लागि करण केसी र लेगस्पिनर सन्दीप लामिछानेले समान ४ विकेट लिए । सन्दीपले ८.१ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका छन् । नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो ।

करण केसीले ओपनर जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाए। १३ बलमा १ चौका र १ छक्का मद्धतमा १३ रन बनाएका सिंह लामो सट खेल्ने धुनमा आशिफ शेखको हातबाट क्याच आउट हुन पुगे।

त्यस्तै छैटौँ ओभरको पाँचौ बलमा करणले दोस्रो विकेट लिन सफल भए। ओमानका अर्का ओपनर सुफियान मेहमुदलाई ४ रनमा पवेलिएन फर्काए। करणले उनलाई सुसन भारीको हातबाट क्याच आउट गराए। १६ बलको सामना गरेका सुफीयानले ४ रन मात्र जोडे।

करणले आठौँ ओभरको पाँचौ बलमा आयान खानलाई बोल्ड आउट गरे। १८ बलमा ७ रन बनाएका खान मैदान छाड्न बाध्य भए। त्यस्तै सरद भेष्वाकरले २ विकेट लिए ।
१२२ रनको लक्षय लिएर मैदानमा उत्रेको नेपालले १८.२ ओभरमा ३ खेलाडी गुमाएर लक्ष्य पुरागरेर खेल ७ विकेटले जितेको हो ।

Facebook Comments Box