गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सले आज वाइडबडी जहाज मार्फत् परीक्षण उडान गर्दै

चितवन, १५ वैशाख – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सले आज वाइडबडी जहाज मार्फत् परीक्षण उडान गर्दै छ।दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भर्न लागेको हो।

उक्त जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन मन्त्रालयका सचिव, कर्मचारी, पत्रकारसहित करिब दुई सय ६० यात्रु रहनेछन्।

गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालका अनुसार जहाज आजै साँझ पाँच बजेपछि पुनः काठमाडौं फर्कने छ। गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने तयारी गरेको थियो। त्यतिबेला विविध कारणले हुन नसकेको उडान आज गर्न लागिएको दाहालले जानकारी दिए।

आगामी जेठ २ गते बुद्ध जयन्तिको दिनदेखि गौतमबुद्ध विमानस्थलबाट बुद्ध एयरले नियमित व्यावसायिक उडानको तयारी गरेको छ।

Facebook Comments Box