स्पेनमा आवास सङ्कट र महँगीविरुद्ध आमहडताल, बार्सिलोनामा झडप
बार्सिलोना । स्पेनमा बढ्दो महँगी र आवास सङ्कटविरुद्ध १४ वर्षयताकै पहिलो आमहडताल भएको छ। आमहडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रमुख मजदुर सङ्गठनहरूको आह्वानमा भएको प्रदर्शनमा राजधानी मड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन्।
बार्सिलोनामा नकाबधारी समूहले पसलमा तोडफोड र आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। घटनामा संलग्न दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको स्पेनको गृह मन्त्रालयले जनाएको छ। आमहडतालका कारण देशभर यातायात र सार्वजनिक सेवा प्रभावित भएका छन्। प्रदर्शनकारीहरूले बढ्दो घरभाडा र जीवनयापनको खर्च नियन्त्रण गर्न तथा सर्वसाधारणका लागि सुलभ आवासको व्यवस्था गर्न माग गरेका छन्।
घरजग्गासम्बन्धी पोर्टल आइडियालिस्टाका अनुसार मड्रिडमा ५० वर्गमिटरको अपार्टमेन्टको औसत मासिक भाडा एक हजार एक सय ७० युरो पुगेको छ। यो स्पेनको औसत मासिक तलबको झन्डै आधा हो। सन् २०१२ यता स्पेनमा भएको यो पहिलो आमहडताल हो। आवास सङ्कट र महँगीविरुद्ध सुरु भएको आन्दोलनले देशव्यापी रूप लिएको छ।

