वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि असोजसम्म चामल, मकै, गहुँ, धान, माल्ट, फापर र कोदोलगायत तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।
यस अवधिमा चामल आयात ९४ लाख किलोबाट घटेर ६७ लाख ७३ हजार किलोमा सीमित भएको छ। त्यस्तै, धान आयात तीन करोड ९१ लाख किलोबाट घटेर ६९ लाख ३५ हजार किलोमा झरेको छ। मकै आयातमा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख किलो मकै आयात भएकामा चालु आर्थिक वर्षमा ६७ लाख ३६ हजार किलो मात्रै आयात भएको भन्सार कार्यालयले जनाएको छ।
त्यसैगरी, फापर, कोदो तथा अन्य खाद्यान्नको आयात पनि घटेको छ। भन्सार कार्यालयका अनुसार खाद्यान्न आयातसँगै त्यसको मूल्यसमेत घटेको छ। विशेषगरी धान, चामल र मकैको आयातमा उल्लेख्य कमी देखिएको छ।

