जलवायु सङ्कट विश्वको तयारीभन्दा तीव्र गतिमा बढ्दै : राष्ट्रसङ्घका महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको बताउनुभएको छ। टर्किएको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु परिवर्तनविरुद्धका प्रयास तीव्र बनाउन विश्व नेताहरूलाई आग्रह गर्नुभएको हो।

महासचिव गुटेरेसका अनुसार सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा ताता वर्ष बनेका छन्। उहाँले जीवाश्म इन्धनको प्रयोगले जलवायु सङ्कट र वातावरणीय विनाश बढाइरहेको भन्दै स्वच्छ ऊर्जातर्फ तीव्र सङ्क्रमण आवश्यक रहेको बताउनुभयो।

उहाँले विश्व तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य अस्थायी रूपमा नाघ्ने अवस्था देखिए पनि त्यसलाई स्थायी हुनबाट रोक्न अझै प्रयास गर्न सकिने उल्लेख गर्नुभयो। गुटेरेसले सन् २०३५ सम्म नवीकरणीय ऊर्जा उत्पादन क्षमता कम्तीमा तीन गुणाले बढाउन र कोइलामा आधारित विद्युत् उत्पादन उल्लेख्य रूपमा घटाउन आग्रह गर्नुभएको छ। साथै तेल तथा ग्यासको प्रयोग घटाउन र नयाँ जीवाश्म इन्धन परियोजना रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो।

जलवायु सङ्कटको असर बढी भोगिरहेका विकासशील राष्ट्रलाई पर्याप्त आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ। विकसित देशहरूले सन् २०३५ सम्म वार्षिक कम्तीमा तीन खर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउन नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो।

जीवाश्म इन्धनबाट अत्यधिक नाफा कमाउने कम्पनीहरूले जलवायु क्षतिको लागतसमेत बेहोर्नुपर्ने उल्लेख गर्दै गुटेरेसले प्रदूषण गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनविरुद्धको लडाइँलाई वातावरण संरक्षणमा मात्र सीमित नराखी मानव जीवन, आर्थिक सुरक्षा र दिगो भविष्यसँग जोडेर अघि बढाउन विश्व समुदायलाई आह्वान गर्नुभएको छ।

Facebook Comments Box