भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा सम्पदा र मानव स्वास्थ्य जोखिममा
काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्य जोखिममा परेको छ। नेपाल संवत् ११४७ को अवसरमा आयोजित न्हुदँया भिन्तुना र्यालीका सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति पाँचतल्ले मन्दिर परिसरमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए।
पटाकाबाट निस्किएको आगोको झिल्काले सयौँ वर्ष पुराना काठका संरचनामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीले बताएका छन्। पटाकाको धुवाँ र चर्को आवाजले आसपासका बासिन्दालाई समेत असर पारेको छ। स्थानीयवासीका अनुसार पटाकाबाट निस्किएको धुवाँका कारण श्वास फेर्नसमेत कठिन भएको थियो। पटाका पड्काउने क्रममा रकेट पटाका एक महिलाले बोकेको बच्चाको खास्टोमा अड्किए पनि समयमै ध्यान दिइएकाले सम्भावित दुर्घटना टरेको थियो।
पटाकाको धुवाँले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिको स्वास्थ्यमा असर पार्न सक्ने विज्ञहरूले बताएका छन्। प्रहरीले पटाका नपड्काउन यसअघि नै सार्वजनिक सूचना जारी गरेको जनाएको छ। घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइएको छ।
स्थानीयवासीले ऐतिहासिक सम्पदाको संरक्षण र सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि पटाका पड्काउने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। तिहारका अवसरमा यस्ता घटना दोहोरिन नदिन स्थानीय सरकार, प्रहरी प्रशासन र सर्वसाधारण सबै जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ छ।

