५५ आधारभूत अस्पताल सञ्चालनको तयारी : मन्त्री पौडेल

काठमाडौँ, २८ साउन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले तीनै तहका सरकारको आपसी समझदारीमा यी अस्पताल सञ्चालन हुने जानकारी दिनुभयो। उहाँका अनुसार चिकित्सक र आवश्यक उपकरण पठाउने तयारी भइरहेको छ।

मन्त्री पौडेलले कतिपय अस्पताल प्रक्रियागत विषय टुङ्गो नलागेकाले सञ्चालनमा ढिलाइ भएको बताए। “भवन तयार देखिए पनि हस्तान्तरण नभएका, निर्माण अपूरा रहेका वा कानुनी विवाद भएका अस्पताल तत्काल सञ्चालनमा ल्याउन सकिँदैन,” उहाँको भनाइ थियो।

बाँकेको सोनारी नरैनापुर–४ मा अस्पतालको भौतिक प्रगति शतप्रतिशत भई हस्तान्तरण मात्र बाँकी रहेको र हस्तान्तरणलगत्तै सञ्चालनमा आउने पनि उहाँले जानकारी दिनुभयो। अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि पारित भइसकेको समेत उहाँले बताए।

Facebook Comments Box