एनपीएलमा आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स दुई जित र एक हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराएको थियो ।

यता, चार खेल खेलेको सुदूरपश्चिम दुई जित र दुई हारसहित छैटौँ स्थानमा छ । उसले पहिलो खेलमा चितवन र तेस्रो खेलमा पोखरालाई हराएको थियो भने दोस्रो खेलमा विराटनगर र चौथो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

तीन खेल खेलेको चितवन एक जित, एक हार र वर्षाका कारण एक खेल रद्द भएपछि सातौँ स्थानमा छ । पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको चितवनको लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा भने चितवनले विराटनगरलाई हराउँदै पहिलो जित निकालेको थियो ।

यता, पोखरा एभेन्जर्स भने अंक तालिकाको पुछारमा छ । तीन खेल खेलेको पोखरा तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा लुम्बिनी, दोस्रोमा जनकपुर र तेस्रोमा सुदूरपश्चिमसँग हारेको पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

Facebook Comments Box