ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते
धनकुटा – धनकुटामा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा भएको दुर्घटनामा धनकुटा नगरपालिका–१ निगालेकी ५१ वर्षीया ठोमादेवी ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हिलेबाट धनकुटातर्फ आउँदै गरेको ट्रकलाई सोही दिशाबाट आएको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएपछि विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
अर्को मोटरसाइकलका चालक २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन्। उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालक र दुर्घटनामा संलग्न सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

