सरकारले थप १४ विधेयक संसद्मा दर्ता गर्ने तयारी

काठमाडौँ । सरकारले थप १४ वटा विधेयक संघीय संसद्मा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन छन्। तीमध्ये २४ वटा विधेयक संसदीय समितिमा दफावार छलफलका क्रममा छन् भने एउटा राष्ट्रिय सभामा र बाँकी विधेयक सम्बन्धित सभामै रहेका छन्।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनबाट पारित १२ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन्। तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा प्रमाणीकरणको प्रक्रियामा रहेको छ।सरकारले संसद्मा दर्ता गर्न तयारी गरेका विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन, राष्ट्रिय सतर्कता केन्द्रसम्बन्धी ऐन संशोधन, कम्पनी ऐन संशोधन तथा विभिन्न पाँचवटा संहिता संशोधनसम्बन्धी विधेयक रहेका छन्।

यस्तै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक पनि संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसम्बन्धी विधेयक अघि बढाएको छ। ऊर्जा मन्त्रालयले नवीकरणीय ऊर्जा र जलस्रोतसम्बन्धी ऐन संशोधन विधेयकको प्रक्रिया अघि बढाएको छ।

यसैगरी पूर्वाधार न्यायाधीकरण, कृषि तथा पशु बधशालासम्बन्धी विधेयक पनि संसद्मा दर्ता गर्ने तयारी भइरहेको कानुन मन्त्रालयले जनाएको छ। कुन विधेयक कुन चरणमा पुगेको छ भन्ने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ। थप १४ वटा विधेयक छिट्टै संसद्मा दर्ता गर्ने गरी प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box