एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौँ, १५ भदौ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा हुने खेल बिहान ७ः१५ बजे सुरु हुनेछ। एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल पहिलो खेलमै बहराइनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्ने लक्ष्यमा छ। प्रतियोगिताको समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने भएकाले नेपालका लागि समूह चरणका चारवटै खेल महत्वपूर्ण छन्।

नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकरले प्रतियोगितामा सहभागी कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने बताउनुभएको छ। उहाँले एसिसी प्रिमियर कपका सबै १० टोली प्रतिस्पर्धी रहेकाले नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा आफू आशावादी रहेको बताउनुभयो।

नेपालले प्रतियोगिताअघि मलेसियासँग खेलेका दुई अभ्यास खेलमा लगातार जित हात पारेको थियो। पहिलो खेलमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेको नेपाल दोस्रो अभ्यास खेलमा भने केही कमजोर देखिएको थियो। तर बलिङमा सानदार प्रदर्शन गर्दै नेपालले मलेसियालाई २७ रनले पराजित गरेको थियो।

एसिसी प्रिमियर कपका लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन्।

Facebook Comments Box