दसैँअघि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन गर्ने तयारी

काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सडक विभाग र सुरक्षा निकायले काम तीव्र पारेका छन् । सडक विभागका अनुसार बाढीले अवरुद्ध अधिकांश सडक खुलिसकेका छन् । अब स्याफ्रुबेँसी–रसुवागढी खण्डलगायत केही स्थानमा सडक खुलाउन बाँकी छ । सडक खुलाउन डोजर, एक्साभेटर र अन्य हेभी उपकरण परिचालन गरिएको छ ।

वेत्रावती, फलाखु खोला र स्याफ्रुबेँसीलगायत स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १५ किलोमिटर सडक खण्डमा तीन स्थानमा बेलिब्रिज राखेर सडक सम्पर्क पुनःस्थापित गर्ने योजना रहेको सडक विभागले जनाएको छ ।बाढी प्रभावित सडक तथा पुल निर्माणलाई तीव्रता दिन आठवटा विषयगत कार्यदल गठन गरिएको छ । सडक विभाग र सुरक्षा निकायको टोलीले अस्थायी ट्र्याक खोल्ने, पहिरो तथा माटो हटाउने र चट्टानी क्षेत्रमा ब्लास्टिङ गर्ने काम गरिरहेको छ ।

सरकारले दसैँका समयमा नागरिकको आवतजावत तथा उत्तरी नाकाबाट हुने व्यापारलाई ध्यानमा राख्दै अस्थायी रूपमा भए पनि सडक सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोग र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक तथा यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

Facebook Comments Box