ब्रिक्स नयाँ दिल्ली घोषणापत्र जारी, आतंकवादविरुद्ध कडा अडान
नयाँ दिल्ली । भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन शनिबार ‘ब्रिक्स नयाँ दिल्ली घोषणापत्र’ जारी गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएपछि घोषणापत्र सर्वसम्मतिले पारित भएको जानकारी दिनुभयो ।घोषणापत्रमा पहलगाम आतंकवादी आक्रमणको कडा निन्दा गर्दै आतंकवादविरुद्ध सामूहिक र कडा कदम चाल्नुपर्नेमा जोड दिइएको छ । सन् २०२५ अप्रिल २२ मा भएको उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
घोषणापत्रमा आतंकवादका सबै रूप र कारणको निन्दा गरिएको छ । आतंकवादलाई कुनै धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने प्रयासको समेत विरोध गरिएको छ । सीमापार आतंकवाद, त्यसको वित्तीय स्रोत तथा आतंकवादीलाई आश्रय दिनेहरूमाथि संयुक्त रूपमा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै, आतंकवादी तथा आतंकवादी संगठनलाई जवाफदेही बनाउन सामूहिक कदम चाल्न आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित संयुक्त राष्ट्रसंघीय सन्धि चाँडै अपनाउनुपर्ने मागसमेत घोषणापत्रमा गरिएको छ ।
ब्रिक्सका मूल सिद्धान्तका रूपमा पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णय प्रक्रियालाई निरन्तर बलियो बनाउने प्रतिबद्धता सदस्य राष्ट्रहरूले दोहोर्याएका छन् । घोषणापत्रमा एकपक्षीय भन्सार शुल्क तथा व्यापार प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै यस्ता कदम विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का नियमअनुकूल हुनुपर्नेमा जोड दिइएको छ । आणविक हतियार प्रयोगको सम्भावित खतरा र बढ्दो विश्वव्यापी तनावप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।
ब्रिक्स सदस्य राष्ट्रहरूले भारतको अध्यक्षतामा आयोजित ब्रिक्स प्लस तथा आउटरिच संवादको समेत प्रशंसा गरेका छन् । १८औँ ब्रिक्स शिखर सम्मेलन आज पनि जारी रहनेछ । ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको हो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए ।
सन् २०१० मा दक्षिण अफ्रिका समूहमा आबद्ध भएपछि यसको नाम ‘ब्रिक्स’ राखिएको हो । हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य राष्ट्र छन् ।

