प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
काठमाडौँ, १६ फागुन : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। आयोगले निर्वाचनका क्रममा आकस्मिक अवस्था उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो।
फागुन २१ गते देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुँदैछ। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्गता भएका व्यक्ति, अशक्त र ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य सेवा मतदान स्थलमै उपलब्ध गराउन व्यवस्था मिलाउन आयोगले आह्वान गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनको व्यवस्थापकीय कार्य स्वीकृत कार्यतालिकाअनुसार निरन्तर अघि बढिरहेको उल्लेख गर्दै सबै मतदान केन्द्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिइएको जनाइएको छ।
आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधि तयारी अवस्थामा राख्न पत्राचार गरेको जनाएको छ। साथै स्थानीय तहलाई आवश्यक समन्वय र सहयोगका लागि निर्देशन दिइएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर सहकार्य गरिरहेको छ। मतदाताको सार्थक सहभागिता सुनिश्चित गर्न मतदानको दिनअघि र पछिका गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारबाट निर्णयसमेत भइसकेको आयोगले जनाएको छ।
मतदान प्रक्रिया व्यवस्थित गर्न मतदान केन्द्रका रूपमा प्रयोग हुने शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचना फागुन १९ देखि २१ गतेसम्म उपयोग गर्न आवश्यक समन्वय गरिएको आयोगले स्पष्ट पारेको छ।आयोगले निर्णय तथा पत्राचारअनुसार आवश्यक सहयोग उपलब्ध गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सम्बन्धित निकायलाई आग्रह गरेको छ।

