बाढीपहिरो र सडक मर्मतले विभिन्न राजमार्ग प्रभावित

काठमाडौँ, २६ भदौ – बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । नुवाकोटको बेत्रावती नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ ।

नुवाकोटकै शिवपुरी गाउँपालिकास्थित छहरेखोलामा टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अर्को सूचना नभएसम्म उक्त व्यवस्था लागू रहनेछ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सोही गाउँपालिकाको ज्वाङखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा छ ।

थाक्रे गाउँपालिका–२ बाहकिलोमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने अर्को खण्डमा पूर्ण अवरोध रहेको प्रहरीले जनाएको छ । चितवनको बेनीघाट रोराङ–१० ज्वाङखोला क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

काभ्रेमा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–काठमाडौँ सडकखण्डमा अवस्था हेरेर सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यस्तै, कर्णाली प्रदेशको मुगुमा छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित मुगु–मुगुम कार्मारोङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box