दुई फर्मलाई जरिवाना, १५ लाई सुधार निर्देशन
काठमाडौँ, १५ पुस – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न स्थानमा रहेका १७ वटा फर्ममा बजार अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा कैफियत भेटिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ भने अन्य १५ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ।
विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति मार्बल्सलाई २० हजार रुपैयाँ र हात्तीवनस्थित आर के ब्रदर्शलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ तथा दफा ३८ (घ) अनुसारको कसुरमा सोही ऐनको दफा ३९ (१) (क) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।
अन्य १५ वटा फर्मलाई कानुनी मापदण्ड पालना गर्न सुधारात्मक निर्देशन दिइएको छ। विभागले कालोबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण र बजारमा स्वच्छता कायम गर्न नियमित रूपमा अनुगमन गर्दै आएको जनाएको छ। स्थानीय प्रशासन र जनप्रतिनिधिसँगको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिइने विभागले स्पष्ट पारेको छ।

