देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २६ भदौ – देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । हाल देशभर सामान्यतया बदली रही कर्णालीका केही स्थान तथा कोशी, बागमती र लुम्बिनीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मधेस, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । मधेस तथा कोशी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा बागमती र गण्डकीका पहाडी भूभाग तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box