नेत्रज्योति सङ्घद्वारा विपद् उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ । सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गर्नुभएको हो ।

सङ्घका अनुसार अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट रु ९९ लाख ७४ हजार ५०६ तथा कर्मचारी र स्वयंसेवकबाट रु ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको थियो । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

बाढी प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य तथा जीविकोपार्जनमा परेको गम्भीर असरलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको उद्धार कोषमा सहयोग गर्ने निर्णयअनुसार रकम सङ्कलन गरिएको सङ्घले जनाएको छ । सङ्घअन्तर्गतका अस्पताल, आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक तथा कर्मचारीबाट प्राप्त व्यक्तिगत सहयोगसमेत एकीकृत गरी उक्त रकम कोषमा जम्मा गरिएको हो ।

सङ्घले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचार सेवासमेत सञ्चालन गरिरहेको जनाएको छ । विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई आँखा परीक्षण, उपचार तथा आवश्यक परामर्श उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको सङ्घले जनाएको छ ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेश मिश्रले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने बताउनुभयो ।

महासचिव चन्दका अनुसार नेपाल नेत्रज्योति सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरेको छ । सङ्घले हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाअन्तर्गतका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली तथा विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments Box