आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । आज देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका धेरै स्थान, बागमती र गण्डकीका तराई भू–भागका केही स्थान तथा मधेश र कोशीका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । मौसम विज्ञानअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा भारी, १०० देखि २०० मिलिमिटरसम्म भएमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिन्छ ।

Facebook Comments Box